समाजवादी क्रान्तिका लागि नयाँ विचारको संश्लेषण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २१ मङ्सिर  । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि नयाँ विचारको संश्लेषण आवश्यक रहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले हामीलाई विचार फेरिक केन्द्रित गर्ने गर्नुपर्ने भएको छ । हिजो जनवादी क्रान्तिका लागि विचार संश्लेषण गरिएको थियो । हामीले केन्द्रिय समितिको बैठकमा पार्टी, नेतृत्व र विचारप्रति आम केन्द्रीय समितिको बुझाई के हो भन्ने एउटा नयाँ प्रयोगपछि जन्मिएको हो यो विशेष रुपान्तरण अभियान ।’ उहाँले अहिले अभियान देशैभरि नयाँ प्रयोगको रुपमा अगाडि बढेको बताउनुभयो ।
 
प्रधानमन्त्री प्रचण्डले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भएको उल्लेख गर्दै भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान नरोकिएको स्पष्ट पार्नुभयो ।
“सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ, अहिले पनि अभियान रोकिएको छैन”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छु ।”
 
 
उहाँले भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ र सहयोग चाहिएको बताउनुभयो । “नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको हो, नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन”, उहाँले भन्नुभयो, “पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चल्यो, सफलताको उचाइमा पुग्यो । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।”

 
मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उहाँले सामाजिक न्याय र सुशासनको क्षेत्रमा धेरै काम भएको छ ।
 
मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्ता पक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत अन्तरक्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको बताउनुभयो । सरकार गठन भएको पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुआत गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  “यसअघि स–साना काम भए, अब ठूल्ठूला परियोजना निर्माणको थालनी गरिनेछ”, उहाँले भन्नुभयो ।
 
कर्णाली चिसापानी, बूढीगण्डकीलगायत ठूला परियोजना निर्माण सुरु गरिने उहाँको भनाइ छ । आजै मात्र बसेको मन्त्रिपरिषद् बैठकबाट बूढीगण्डकी आयोजनाका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको जानकारी दिँदै उहाँले उक्त आयोजनाको छिट्टै शिलान्यास हुने विश्वास दिलाउनुभयो । आफ्नो विदेश भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको गौरव बढेको उहाँको भनाइ छ ।

कात्तिक ६, २०८१ मंगलबार २१:३५:२०