नेकपाको एकता र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा हाम्रो भुमिका

अहिले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन तुलनात्मक रुपले रक्षात्मक अवस्थामा धकेलिएको छ । तथापी यो प्रतिकुल परिस्थितिमा हामीले नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपले आक्रामक स्तरमा पु¥याउने प्रयास गरेका छौं । यो हाम्रा अग्रज, हामीले चलाएका वैचारिक संघर्ष र बहसले सफल भएको हो । हामीले चलाएका वर्ग संघर्ष र विभिन्न प्रकारका आन्दोलनको संश्लेषणको रुपमा यो आक्रामक उचाई प्राप्त भएको हो ।

अहिले हामी प्रति मुख्यतः श्रमजीवि र संसारभरका कम्युनिष्टहरुको ठूलो सकारात्मक चासो छ । नेपालको नयाँ पहलकदमी, नयाँ परिस्थिति प्रति गहिरो गरि अवलोकन गरिरहेको अवस्था हो । भने अर्कोतिर, प्रतिक्रियावादी शक्तिहरुले आन्दोलन, एकता र आक्रामक उचाइ के गरि कमजोर पार्न सकिन्छ भनेर अनेक किसिमका षडयन्त्रका तानावाना बुन्ने गरेका छन् । यसर्थ हाम्रो पार्टीको काँधमा एउटा ऐतिहासिक जिम्मेवारी छ । राष्ट्रिय एकतालाई सुद्धढ गर्ने, राष्ट्रिय स्वाधिनतालाई सुद्धढ गर्ने, जनताको अपेक्षालाई सम्बोधन गर्ने, सामाजिक न्यायसहित समाजवादको आधार निर्माण गर्ने र समाजवादको दिशातिर अगाडि बढ्ने मुख्य जिम्मेवारी छ । साथसाथै विश्व कम्युनिष्ट आन्दोलन, अन्तराष्ट्रिय श्रमजिविहरुको आन्दोलन, र सम्पूर्ण जनताको अपेक्षालाई सम्बोधन गर्ने अन्तराष्ट्रिय दायित्व पनि हाम्रो काँधमा त्यतिकै गहिरो छ ।

हामीले ७० वर्षको उत्सव मनाउँदै गर्दा, नेपालको कम्युनिष्ट पार्टी ७१ वर्षमा प्रवेश गर्दै गर्दा, नेपालको इतिहासको अनि हाम्रो आन्दोलनको उतारचढावहरुको गहिरो समिक्षा गर्नुपर्ने आवश्यकता छ । कम्युनिष्ट आन्दोलनका तमाम अनुभवहरुको समिक्षा गर्ने र एउटा नयाँ संश्लेषण देशलाई र अन्तराष्ट्रिय जगतलाई दिने जिम्मेवारी हाम्रो काँधमा रहेको छ । सबैले अनुभवलाई वैचारिक र राजनैतिक रुपले संश्लेषण गर्ने र ति अनुभवहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय आयामको बारेमा पनि दुनियालाई जानकारी गराउने जिम्मेवारी हाम्रा सामु छ ।

केहि वर्षदेखि हामीले जसरी काम गर्दै आएका छौं, प्रारम्भमा मानिसहरुले हाम्रा काम, उद्देश्य, संकल्प र प्रतिवद्धताप्रति जहिले पनि आशंका गर्ने गरे । हामी सफलताको सिंडी चड्दै छौं या छैनौं भन्ने बारे विभिन्न खालका विभ्रमहरु पैदा गर्ने प्रयासहरु भए । यसको राष्ट्रिय आयाम र अन्तराष्टिय आयाम पनि छ । यसले सामाजिक विकासको सन्दर्भमा, सामाजिक रुपान्तरणको सन्दर्भमा नयाँ सन्देश दिंदै छ भन्ने कुरामा आशंका व्यक्त गरियो । उचाईमा पुग्दैन भनेर आंशका गरियो । जब हामीले १२ बुँदे समझदारी मार्फत एउटा नयाँ आन्दोलन, अभियान थाल्यौं त्यस्तै खालका विभ्रमहरु र त्यस्तै कसरतहरु हामीले देख्यौं । तर अन्ततः हामी सफल भयौं । हामीले जनयुद्ध र जनआन्दोलनलाई एक अर्काको पुरक बनाउँदै शान्ती सम्झौतासम्म त्यसलाई लैजाने र ठूलो युगान्तकारी राजनीतिक रुपान्तरणमा त्यसलाई बदल्ने महाअभियानमा हामी अन्ततः सफल भयौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र सफल भईसकेपछि फेरि आशंकाको स्थिति बन्यो । के विधानसभाबाट संविधान बन्ला त ? पहिलो संविधानसभा असफल भइसकेपछि देशभित्र र बाहिर एउटा बसह अगाडि आयो संविधानसभाबाट संविधान बन्छ त ? संविधानसभाबाट संविधान बन्न नदिनको निम्ति लोकतान्त्रिक विधि र प्रक्रियाबाट एउटा रुपान्तरणलाई सफल हुन नदिन कसरत भै नै राखे । पहिलो संविधानसभा असफल भयो । दोस्रो संविधानसभा, अपवाद नै भन्नुपर्छ एउटा देशमा एकै प्रक्रियामा तर त्यो पनि हामीले सम्भव तुल्यांयौं । अन्ततः संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरियो । संविधान घोषणा गरिसकेपछि पनि संविधान कार्यान्वयन होला त ? आवश्यक ऐन नियमहरुको व्यवस्था गरेर परिवर्तनलाई संस्थागत गर्ने गरि संविधान कार्यान्वयन होला त ? भन्ने प्रश्न फेरि हाम्रा अगाडि थियो । फेरि एउटा आंशका हामीले सामना गर्यौं । निर्वाचन हुने प्रक्रियामा पनि यो निर्वाचनले देशमा निकास देला ? विकास निर्माणको एउटा नयाँ युगतिर देशलाई लैजान सक्ला ? के राजनीतिक अस्थिरता, अराजकता र अन्यौलको लामो भुमरीबाट देश बाहिर निस्केला ? भन्ने प्रश्न खडा भइरहे । निर्वाचन भएपनि विगत ७० वर्षदेखिको अराजकता, अन्यौलता र आशंकाको वातावरण कायमै रहने हो कि ? किनकी ००७ सालको परिवर्तन पछि ०१७ सालको अराजकतालाई नेपाली समाजले भोगी सकेको थियो ।

३० वर्षे पञ्चायती निरंकुशता नेपाली समाजले भोगी सकेको थियो । ०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका उतारचढावहरु र त्यसपछिका संघर्ष र आन्दोलनका उपक्रमहरु पनि नेपाली समाजले भोगी सकेको थियो । संविधानसभाबाट संविधान बनिसकेपछि, तिनै तहको निर्वाचन सम्पन्न भईसकेपछि पनि के नेपालमा एउटा नयाँ युगको सुत्रपात हुन सक्ला त ? स्थात्विको, विकासको, समृद्धिको, सुशासनको यो प्रश्न थियो ।

यो सबैले आत्मसाथ गर्नुपर्ने विषय हो । त्यो परिस्थितिमा हामीले दुईटा कम्युनिष्ट पार्टी, दुइटा धारा र दुईटा प्रयोगबाट एउटा नयाँ निष्कर्षतिर पुग्यौं । हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने पहल लिनुपर्दछ, जतिसुकै अप्ठ्यारो, जटिल भएपनि नेपाल राष्ट्र, श्रमजिवी जनता र विश्वकम्युनिष्ट आन्दोलनको हितमा हामीले कदम चाल्नै पर्छ । हामीले कदम चालेनौ भने देशको निम्ति र समग्र कम्युनिष्ट आन्दोलनको निम्ति पनि दुर्भाग्य हुन सक्दछ । हाम्रा हजारौं शहिदहरुले रगत बगाएर प्राप्त गरेका उपलब्धीहरु, हाम्रा अग्रजहरुको जीवनभरिको त्याग, तपस्या र मेहनतबाट प्राप्त भएको उपलब्धिहरु धरापमा पर्न सक्दछ । ति खतरामा पर्न सक्दछ भन्ने निष्कर्षसहित हामीले पार्टी एकताको संकल्प गर्यौं । हामीले जब पार्टी एकता गर्नेसहित निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गर्र्यौं, त्यसबेला पनि आशंकाहरु व्यक्त भए । यो एकता सम्भव हुँदैन् । भै हालेपनि यो टिक्दैन अथवा यो देशमा कम्युनिष्टहरुको एकता भयो भने अधिनायकवाद, निरंकुशतातिर देश जाने खतरा हुन्छ । आदि इत्यादी थुप्रै आशंकाहरु पैदा गर्ने कोसिस भए । त्यसको साथसाथै दुवै त्यतिबेलाका पार्टी संगठनहरु र पार्टीका नेतृत्वहरुलाई एकतामा जानबाट रोक्नको निम्ति अनगिन्ती आन्तरिक र बाह्य प्रयासहरु भए ।

मलाई लाग्छ, हामी सबै कमरेडहरुले त्यो कुरालाई बुझेका छौं । हामी सबैले त्यसलाई कुनै न कुनै रुपमा आत्मसाथ गरेका छौं । पार्टी स्थापनाको यो ऐतिहासिक अवसरमा म सम्पुर्ण कमरेडहरुलाई गहिरो गरि स्मरण गर्न अनुरोध गर्दछु । सानो मेहनत र संकल्पले यो एकता भएको होइन । हामीले निर्वाचन सकिसकेपछि एकता रोक्न भएका धेरै किसिमका राष्ट्रिय अन्तराष्ट्रिय प्रयासहरु असफल बनायौं । हामीले जे प्रतिबद्धता र संकल्प व्यक्त गरेका थियौं ति प्रतिबद्धताबाट हामी विलकुल कतै नमोडि एकता गरायौं ।

एकता प्रक्रिया ढिलाई हुँदा, हामीलाई जहाँ भेटेपनि जसरी भेटेपनि कार्यकर्ता स्तरबाट प्रश्न गरेर प्रोत्साहित गर्नुभयो । हामीलाई दबाब पनि दिनुभयो र बाध्य पनि पार्नुभयो । तपाईहरुको सहयोग विना पनि यो एकता प्रक्रियालाई टुंगो लाग्ने अवस्था थिएन ।

कमरेडहरु, कम्युनिष्ट आन्दोलन भनेको एउटा विचार, वर्गको आन्दोलन हो । वर्गको हित र स्वार्थलाई केन्द्रित गरेर वैज्ञानिक नियमलाई आत्मसाथ गरेर ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै परिवर्तनको प्रवाहमा अगाडि बढ्ने अभियान हो । गतिको अनन्त प्रवाहमा रहेको समाज, मानिसको चिन्तन, प्रकृतिको नियमलाई उद्घाटन गर्दै विकसित गरेर अगाडि बढ्ने प्रक्रिया हो । महान् लेनिनको जन्मजयन्तीको अवसरमा, पार्टी स्थापना भएको सन्दर्भमा, लेनिनको नेतृत्वमा भएको क्रान्ति र लेनिनले विचारमा गरेको विकास यहाँ सम्झन चाहें । माक्र्सवादको आधारभूत सिद्धान्तहरुको रक्षा गर्ने, त्यसलाई प्रयोगमा लैजान र प्रयोगका बीचबाट विकास गर्ने एउटा ऐतिहासिक उदाहरण क. लेनिनले प्रस्तुत गर्नुभएको थियो । हामी आज उहाँको पनि सम्झना गर्दैछौं ।

पार्टी एकता भयो भनेर बस्ने अवस्था छैन् । हाम्रो अगाडि अझै धेरै कामहरु बाँकी छन् । हामी पछाडि फर्केर होइन अगाडि बढेर माक्र्सवाद र लेनिनवादको आधारभूत सिद्धान्तहरुमा टेकेर समाजवादतिरको यात्रा तर्फ अगाडि बढ्नुछ । हाम्रा अनुभवहरुको सार खिचेर समाजवादको आधार निर्माण गर्ने, रणनीतितिर अगाडि बढ्ने कुरा हामीले गरेका छौं । यो आफैंमा एउटा युगान्तरकारी कुरा हो । २१ औं शताब्दीमा १९औं र २० औं शताब्दीका सबै सकारात्मक र नकारात्मक अनुभवहरुको आधारमा हामीले वैचारिक ढंगले नयाँ संश्लेषण गर्ने पहलकदमी लिनु पर्छ । अब, हिजोका बनि बनाउन सिद्धान्त, रणनीति र कार्यनीतिले काम दिनेवाला छैन । जबसम्म पार्टीले सामाजिक रुपान्तरणको अभियानलाई नयाँ र संश्लेषित विचारद्धारा सम्बृद्ध गर्ने आँट गर्दैन, नयाँ सिद्धान्त, रणनीति र कार्यनीतिबाट परिस्कृत गर्ने आँट गर्दैन तबसम्म गुणमा फड्को मार्ने भन्ने हुँदैन । नेतृत्वले जरुरी पर्दा निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुवात गर्ने आँट नगर्दासम्म क्रान्ति र युगको नेतृत्व गर्न सक्दैन । कमरेडहरु, पार्टी एकता गर्दा जुन सैद्धान्तिक मान्यतामा टेक्ने जर्मको गरेका छौं, ति हाम्रो गौरवशाली अनुभवहरुको सकारात्मक संश्लेषण पनि हो ।

अहिले देशको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, सम्भावना र चुनौतिहरुको संश्लेषण गर्दै विचारलाई पनि विकसित गर्ने, राजनीतिक रणनीतिलाई पनि विकसित गर्ने र हाम्रो अभियानलाई पनि नयाँ संकल्पका साथ अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी आएको छ । यो परिस्थितिमा अब पछाडि फर्केर हेर्न सम्भव छैन ।

तथापी यहाँ केहि गलत प्रवृत्ति जहिले पनि बहसमा रहन्छन्, त्यसभित्र संघर्षमा रहन्छन् । एउटा अन्तराष्ट्रिय परिवेशमा प्रयोग गरिएका कुरालाई महिमा बनाएर त्यसैमा रमाउने र आत्मरति गर्ने, कम्युनिष्ट आन्दोलन र राजनीतिलाई नयाँ गति दिने आँट विलकुलै नगर्ने एउटा प्रवृति संसारभर अनि नेपालमा पनि छ । हामी त्यसका विरुद्ध लगातार संघर्ष गर्दै आएका छौं । र हामीले त्यसले पारेको अप्ठ्यारो अवस्थालाई पनि भोग्दै आएका छौं । जसलाई हामीले जडसुत्रवादी या अल्गाववादी भनेपनि हुन्छ । जनता एकातिर, इतिहास एकातिर, घटनाक्रम एकातिर तर आत्मगत र मनोगत ढंगले आफैंलाई महिमा मण्डित गरेर रहने प्रवृत्तिसँग हामीले संघर्ष गर्दै आएका छौं ।

आजको कम्युनिष्ट आन्दोलन, क्रान्ति र वर्गसंघर्षको आवश्यकतालाई वस्तुवादी तरिकाले मुल्यांकन गर्ने विश्लेषण गर्ने र त्यसमा टेकेर वैचारिक राजनीतिक विकास गर्ने चुनौतिलाई स्वीकार गर्न जरुरी छ । र अर्कोतिर, वर्गसंघर्षका आधारभूत सिद्धान्तहरु, माक्र्सवादका सार्वभौम स्थापित सिद्धान्तहरुलाई परित्याग गर्न खोज्ने प्रवृत्ति पनि छ । त्यसको वैज्ञानिक सारतत्वलाई इन्कार गर्ने । वर्गसमन्वय र वर्गविरोधीसँग संत्सर्ग गर्ने र वर्गपक्षधरतालाई बिर्सिदैं जाने प्रवृति झन खतरनाक छ ।

हामी वर्गसहितको पार्टी हौं । हामी निवर्गीय पार्टी होइनौ । जबसम्म समाजमा वर्गहरु रहन्छन् । वर्गसंघर्ष रहिराख्छ । त्यहि वर्गसंघर्षको आवश्यकताले गर्दा वर्गका आ–आफ्ना पार्टी, दर्शन र सिद्धान्त रहिरहन्छ भन्ने कुरालाई बिर्सिएर सम्पूर्ण रुपले प्रतिक्रियावादी बुर्जुवा वर्गमा सर्मपण गर्ने र अर्को एउटा आत्मसमर्पणवादी प्रवृत्ति छ । हामी यी दुवै प्रवृत्तिसँग संघर्ष गर्दै आएका छौं । र हाम्रा अग्रजहरुले जे गरे, उनीहरुबाट हामीले जे सिक्यौं ति सबैको आधारमा हामीले त्यसको प्रयोग गर्ने कोशिस गरेका छौं । यो पार्टी एकता त्यसैको प्रतिफल हो ।

यो पार्टी एकतामा हामीले व्यक्तिगत पद प्रतिष्ठा र गुटगत स्वार्थ हेरेको भए एकता सम्भव थिएन । किनकी प्रतिक्रियावादीहरुले र अवसरवादीहरुले जहिले पनि कम्युनिष्ट आन्दोलन भित्र वुर्जुवा र गुटगत सोंचलाई प्रोत्साहित गर्ने गर्दछन् । कम्युनिष्ट पार्टी पनि वर्गको पार्टी होइन र अवसरवादहरुको झुण्ड हो भन्ने बनाउन चाहन्छन् । वैचारिक ढंगले दिग्भ्रमीत पार्ने प्रयास हुनसक्छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा खासगरि ०४६ सालपछिको जनआन्दोलन वरिपरिबाट हामीले जे प्रयोग गर्यौं, एकातिर क. मदन भण्डारीको नेतृत्वको शान्तिपूर्ण र प्रतिस्पर्धाको बहुदलिय जनवाद भने अर्कोतिर तात्कालिन माओवादीको नेतृत्वमा जनयुद्धको माध्यमबाट सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग समुदायमा अधिकार स्थापित गर्ने गरि । जसबाट एउटा नयाँ राजनीतिक जागरण ल्याउने र एउटा परिवर्तनको निमित्त तयारी गर्ने एउटा अभियान आयो । यि दुइटै अभियानका सकारात्मक योगहरु कारण अहिलेको अवस्था आएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र दुवैको सकारात्मक योगबाट सफल भएको हो । यि दुइटै धाराका नेताहरुले एक अर्काको महत्व र आवश्यकतालाई नबुझेको भए सायद, जनयुद्धमा हामी सम्पूर्ण रुपले विजय हुने थिएनौं । अर्को पक्ष, बुर्जुवाहरुमाथि सम्पूर्ण रुपले विजय गर्न नसक्ने एउटा खतरा नेपालमा थियो । हामीले जडताका विरुद्ध र अनुभववादका विरुद्ध संघर्ष नयाँ उचाईमा उठायौं ।

यहि संघर्षहरुको बीचमा नै पार्टी एकता भयो । पार्टी एकता नेपाली जनताको विजय थियो । नेपालका सम्पूर्ण कम्युनिष्टहरुको विजय थियो । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको विजय थियो । यो विजयको रुपमा ल्याउनु पनि नेतृत्वको तानाशाहि र नोकरशाही विरुद्ध संघर्ष गर्ने यथार्थलाई स्वीकार गर्ने संकल्पले नै काम गरेको हो ।

एक वर्षमा हामीले जे जति गर्यौं मलाई लाग्छ, आम कार्यकर्ताहरु पनि अझ धेरै गर्न पाएको भए हुन्थ्यो, भनेजति भएन भन्ने चिन्ता छ । नेपाली जनताले दुईतिहाई बहुमतका साथ सरकार बनायो तर जुन गतिमा अगाडि जानुपर्ने थियो त्यता पुगेको छैन कि भन्ने लागेको छ । यद्यपि एकवर्ष पर्याप्त थिएन । झण्डै ६९/७० वर्षदेखि थुपारिएका विकृति र विसंगतिका थुप्रोहरुलाई पार लगाउने कुरा एक वर्षमा सम्भव हुने कुरा होइन । तर फेरि पनि, हामीले सन्तुष्टि लिएर हुँदैन । हाम्रा अपुगहरु, कमीहरु कहाँ रहे, त्यसको इमान्दारीका साथ समिक्षा गर्ने र कमीहरुलाई सच्याउने संकल्प गर्नु आवश्यक छ । जनअपेक्षा अनुसार अगाडि बढ्नको लागि अझ ठूला–ठूला अभियानहरु चलाउने एउटा परिवेशमा हामीहरु अगाडि बढ्नै पर्दछ ।

पार्टीलाई तानाशाहि र नोकरशाहीका विरुद्ध संघर्ष गर्न सिकाउन, जनताका हितसँग एकाकार हुन सिकाउन, कम्युनिष्ट आन्दोलनका राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवहरुलाई संश्लेषित रुपमा प्रशिक्षित गर्न जानु छ । अब ढिला गर्नुहुन्न । हामीले आगामी ८ महिना भित्र ७७ वटै जिल्ला र प्रवासका पनि सबै सम्मेलनहरु सकिसक्नु पर्छ । हामीले एक वर्ष भित्र महाधिवेशन गरिसक्नुपर्छ । र त्यो अभियान सम्मेलन सफल पार्ने अनि अधिवेशन र महाधिवेशन सफल पार्ने अवधि मात्रै हुनेछैन। एउटा महान बहसको अवधि पनि हुनेछ । माक्र्सवादलाई विकसित गर्ने एउटा भट्टी जस्तो, भट्टीभित्र प्रवेश गर्ने महावहश र महाविवादको अभियान पनि हुनेछ । त्यसले माक्र्सवादलाई समृद्ध बनाउनको एउटा भट्टीको काम गर्नेछ ।

महाधिवेशनसम्म जाँदा हामीले जुन संश्लेषण गर्नेछौं त्यो संश्लेषणले हामीलाई दशकौ सम्म दिशा निर्देश गर्नेछ । एउटा राजनैतिक दस्तावेज, एउटा नयाँ राजनैतिक दिशा र त्यसले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नेपालबाट पनि एउटा नयाँ वैचारिक दिशा दिनेछ ।

जसरी पार्टी एकता तमाम अवसरवाद र प्रतिक्रियावादको षडयन्त्रहरुलाई परास्त गर्दै नेतृत्वले प्रदर्शन गरेको तमाम कार्यकर्ता र जनताले प्रदर्शन गरेको आकांक्षा र पहलकदमी थियो । अहिले पार्टी एकता गरेको पनि त्यसैको परिणाम हो ।

अब हामीले विचार, राजनैतिक रणनीति र कार्यनीतिलाई विकसित गर्ने र नेपाललाई समाजवादतिर लिएर जाने संकल्प गर्नैै पर्दछ । जसरी संविधानमा समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको छ, त्यसमा कम्युनिष्टहरुले ठिक ढंगले विश्लेषण संश्लेषण गरि वैज्ञानिक समाजवाद तिरको यात्रामा लाग्नुपर्छ । हामी सबैले संकल्प गर्ने पर्दछ । विगतका विकृति, विसंगतीबाट शिक्षा लिएर हामी सबैले एकपटक आफैंभित्रको फोहोर मैला सफा गर्ने अभियानको रुपमा अगाडि बढाउनु पर्दछ । आउँदो जिल्ला अधिवेशन, महाधिवेशनलाई त्यसैमा प्रयोग गर्नुपर्दछ । मैंले पार्टी एकताको संकल्प गर्दै गर्दा गत असोज १७ मा भनेको थिँए, हामीभित्र पनि धेरै फोहोर मैला जम्मा भएको छ । यो फोहोर मैला सफा नगरी हामी अगाडि जान सम्भव छैन । यो फोहोर मैला आम कार्यकर्ता र जनताको सहयोग विना, उनीहरुलाई भरोसा नदिलाई, उनीहरु भित्रको उर्जाको सहयोग नल्याई सम्भव छैन् ।

यसको लागि हामीलाई एउटा नयाँ सांस्कृतिक आन्दोलन, सांस्कृतिक क्रान्ति चाहिएको छ । नयाँ जोससहितका नयाँ पिँढी, अनि पुराना अनुभवसहितका साथीहरुको समिश्रणबाट एउटा सांस्कृतिक आन्दोलन चल्नुपर्छ । त्यो आन्दोलन भ्रष्टचारका, ढिलासुस्ती, बेइमानी अनि जालझेल विरुद्ध हुनुपर्दछ । हाम्रो आउँदो महाधिवेशन सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने एउटा संकल्पको रुपमा लिन पनि जरुरी छ । मलाई विश्वास छ, त्यसो गर्यौं भने मात्रै हामीले माक्र्सवाद, लेनिन र कम्युनिष्ट आन्दोलनको भविष्यप्रति हाम्रा शहिद वेपत्ता योद्धा र अग्रजहरु प्रति इमान्दार भएको ठहरीने छ ।

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगो लागेको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको सन्दर्भमा प्रज्ञाभवनमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सम्बोधनको सम्पादित रुपमा यहाँ प्रस्तुत गरिएको छ ।)

खबरडबलीबाट

मंसिर १७, २०८१ मंगलबार २:३१:४२