'जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध छ'

मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लागनी अभिवृद्धि गरी जनताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा लगानी विस्तार गरेर मानव अधिकार सुरक्षित सरकार निरन्तर लागि परेको बताउनुभयो । 

सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । उहाँले मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्य साथ सरकारले मानव अधिकार पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको स्मरण गर्नुभयो ।  

अन्तर्राष्ट्रिय रूपमा नेपाल पक्ष भएका सन्धिसम्झौताअन्तर्गतका दायित्वलाई पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै प्रधानमन्त्रीले प्रचण्डले भन्नुभयो, “मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय सहभागिता जनाई मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनका लागि विश्वव्यापी रूपमा नै नेपालले ऐक्यबद्धता व्यक्त गर्दै आएको छ ।” 

सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका निर्धारण गरी तीनै तह र मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, नागरिक समाजको समन्वयमा यससम्बन्धी कार्ययोजना प्रभावकारी कार्यान्वयनलाई जोड दिइएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । उहाँले मानव अधिकारको सम्मान, संरक्षण तथा सम्बर्द्धनलाई संस्कृतिको रूपमा विकास गरी मानव अधिकारमैत्री गाउँ, समाज र राष्ट्र निर्माण गर्न अपील गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले यस वर्ष सम्मानित मानव अधिकारको संरक्षण, सम्मान र सम्बद्र्धनको क्षेत्रमा अझ प्रोत्साहित भएर कार्य गर्न हौसला प्रदान गर्नेसमेत विश्वास व्यक्त गर्नुभयो । 

साउन २, २०८१ बिहीबार ४:२:११